मोदी र यसियाकेन्द्रित राजनीति         

598

हरिप्रकाश चन्द अग्निपुन्ज

अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको न्युक्लियस यसियातिर सर्ने क्रम तिब्र छ | हरेक क्षेत्रमा आफुलाई खरो रुपमा टक्कर दिइरहेको  चीनलाई आफ्नै घरेलु मामलामा व्यस्त तुल्याउदै बिस्तारै बिचरो साबित गर्ने अमेरिकी र युरोपियन युनियनको स्वार्थमा थप धक्का लागेको छ | भारतलाई अति बिश्वाशिलो हतियारको रुपमा प्रयोग गर्ने उनीहरुको बिगत देखिकै प्रयास भारतमा नरेन्द्र मोदीको उदय संगै धराशायी बन्ने देखिएको छ | अनेक प्रयासका बाबजुद् चिन आश्चर्यजनक रुपमा संसारकै दोस्रो ठुलो महाशक्तिको रुपमा उदाउन सक्नुले पनि यसिया अन्तर्राष्ट्रिय शक्ति केन्द्रको न्युक्लियस बन्दै गएको पुष्टि गर्छ |

यसै बीच साउथ ब्लकमा चिन संग निकटको सम्बध भएका व्यक्तिको सानदार उदयले महाशक्ति राष्ट्रको टाउको दुख्नु अस्वाभाविक होइन | सन् २००२ को गुजरातमा भएको धार्मिक दंगा प्रति निरपेक्ष रहेको र हिन्दु-मुस्लिम धार्मिक लडाईलाई मलजल गरेको भन्दै जसरी अमेरिकाले मोदीलाई प्रवेशाज्ञा उपलब्ध गराएको थिएन | तर, मुस्लिम समुदायको समेत उल्लेखनीय मत हाँशिल गरेर संसारकै ठुलो प्रजातान्त्रिक मुलुकको शक्तिशाली प्रधानमन्त्रीमा नियुक्त हुने भएर मोदीले त्यसको शानदार जबाफ फर्काएका छन् | जुन व्यक्तिलादिन आनाकानी गरिएको थियो, त्यहि व्यक्ति आफ्नो ‘काउन्टरपार्ट’ र  महत्वपूर्ण रणनीतिक साझेदार देशको प्रधानमन्त्री बनेपछि अब अमेरिकालाई तनाव भएको बुझ्न कठिन छैन | अब निरिह भएर प्रवेशाज्ञा फुकुवा गर्ने मात्र होइन, चिन संग सम्बन्ध टुटाउन मोदीलाई चिन भन्दा बढी महत्व दिनुको विकल्प देखिदैन |

चीनलाई काउन्टर दिन पश्चिमा शक्तिद्वारा भारतलाई क्षेत्रीय नेताको रुपमा अगाडी सार्ने कोशिश निकै लामो समयदेखि भैरह्यो | चीनलाई घेर्ने गेम प्लानमा अमेरिकी एलाइन्सबाट नयाँ दिल्लीको भूमिका ह्वात्तै बढाउने कार्य हुदै आयो तर, यसियाली भू-राजनीतिक अवस्था युरोपियन युनियनका केहि प्रतिनिधि पात्रहरुसंग ह्वाइट हाउसमा बसेर योजना बनाएजस्तो सजिलो पक्कै पनि थिएन | चिन संग राजनीतिक रुपमा जति पौठे जोरी खेलेपनि आर्थिक र व्यापारिक रुपमा उ संग सहकार्य नभएको भए भारतको पनि ठुलो आर्थिक शक्तिमा रुपान्तरण हुन् सम्भव थिएन | जनसंख्यामा विश्वका यी दुइ ठुला मुलुक एक-अर्काको अन्तर्राष्ट्रिय ब्यापारमा धेरै हदसम्म एक-अर्कामै निर्भर छन् | एउटाको उत्थान र पतनको प्रभाव सिधै अर्को देशमा परिहाल्ने अवस्था सिर्जना भैसकेको छ | तथापि कुटनीतिक र रणनीतिक प्रहार भने भारतबाट भएकै छ |  नरेन्द्र मोदीको उदयपछी भने पहिलेको जस्तै नरहने सम्भावना बढी छ |

सात समुन्द्र पारिका मित्रहरु संग जतिसुकै राम्रो कुटनीतिक लगनगाँठो भए पनि छिमेकी संग राम्रो सम्बन्ध नभएसम्म राष्ट्रिय स्वार्थको संरक्षण हुन सक्दैन भन्ने तत्वज्ञान यसियाली नेताहरुमा पनि हुन थालेको देखिन्छ | मोदीले सपथग्रहणमा नजिकका सार्क राष्ट्रहरुप्रमुखलाई बोलाउनुका पछाडी छिमेकीहरुसंग विद्यामान तनावमा भारि गिरावट गर्ने र उनीहरुको बिश्वास जित्ने उद्देश्य राखेको देखिन्छ | चिनसंग सुमधुर सम्बन्धको अर्थ बहुपक्षीय सन्तुलित एसियाली सहकार्यबिना भारतले आफ्नो तेस्रो ठुलो आर्थिक हैशियत जोगाइरहन सक्दैन भन्ने कुरा मोदी जस्ता चतुर नेताले नबुझ्ने कुरो भएन | त्यसै गरि संसारकै ठुलो मध्यको एक अर्थतन्त्रलाई नजरअन्दाज गरेर आफ्नो दोस्रो ठुलो आर्थिक शक्तिको हैशियतमा रहिरहन्छ भन्ने कुरा पनि यथार्थ हुन सक्दैन भन्ने कुरा चीनिया नेताले प्रष्ट बुझेका छन् |

बिगत नराम्रो भएपनि अमेरिकालगाएतका शक्ति राष्ट्र मोदीलाई सी जिंन पिंगसंगको सम्बन्धमा तटस्थ राख्न र अझ अघि बढेर आक्रामक प्रतिस्पर्धीको रुपमा अगाडी सार्न नयाँ शिराबाट प्रयत्न थाल्नेछन् | त्यसो गर्दा मात्र यी दुइ छिमेकी राष्ट्रहरु आपसमा लडिरहने स्थिति आउनेछ | त्यसो हुन सके अन्ततः चिन र भारत वर्तमान प्रभावबाट च्युत हुन सक्छन्, जसको प्रत्यक्ष फाइदा अमेरिकी ध्रुबका देशहरुलाई हुनेछ | फलस्वरूप एक्काइशौं शताब्दीको यसिया केन्द्रित आर्थिक र राजनीतिक इपिसेन्टर पनि अन्यत्रै सर्नेछ | तथापी अवस्था पश्चिमादेशहरुले सोचे जस्तो हुनेछैन | किनकि कसैले चाहेपनि नचाहे पनि अबको युग भनेको यसियाको हो | यो मुलतः चिन-भारतबिचको सहकार्य बाट जन्मिने नयाँ शक्तिको हुनेछ | दुई देश र सिंगो यसियाको हितका लागि सहकार्य गर्न तत्पर देखिएका सी जिन पिंग र मोदी विश्व राजिनिती र अर्थतन्त्रका नायक हुने सम्भावना बढ्दो छ | तर, त्यसका निम्ति आगामी दिनमा भारतले युरोप र वाशिंगटनको यसियाकेन्द्रित स्वार्थ होइन कि आफ्ना छिमेकी देशहरुको साझा स्वार्थ सहित अघि बढ्नुपर्नेछ |

यस्तो अवस्थामा स्वतः नेपालको हित कहाँनिर भन्ने प्रश्न उठ्नु स्वाभाविक हो | लरतरो, मौसमी, व्यक्तिविशेष र आकारहीन विदेश नीतिको गोलचक्करमा फस्दै आइरहेको नेपालले यसियाकेन्द्रित विश्वराजनीतिबाट फाइदा लिन अधिक मिहिनेत गर्नुपर्ने देखिन्छ | सम्रिद्दी र परिवर्तनको रेखा दुनियामा कसैले कोरिदिने होइन, आफैले हो | हरेक परिघटनामा कहिल्यै पनि पेरिफेरिको प्रधान भूमिका हुदैन | हाम्रो देश युगौं देखि छिमेकीहरुको आक्रामक नेपाल नीतिको सिकार भैरहनुमा उनीहरुको भूमिका त सहायक मात्रै हो | यदि हाम्रा राजनीतिक दलहरुले साँच्चै दलगत स्वार्थलाई अन्त्य गरि राष्ट्रिय साझा स्वार्थको लागि शंकल्प गर्ने र विदेश मामलामा साझा नीति तयार गरि सोहिअनुसार अघि बढ्ने हो भने नेपालले बद्लिदो शक्ति-सन्तुलनबाट फाइदा लिन सक्छ |

मोदीले सपथग्रहणमा छिमेकी देशका सरकार प्रमुखहरुलाई निमन्त्रणा गर्ने जुन अभ्यास थालेका छन्, त्यसका पछाडी उनको दक्षिण यसियामा “लिजेण्ड फिगर” को रुपमा उदाउने उद्देश्य देखिन्छ | छिमेकीमा सानदार प्रभाव पार्ने रणनीति बमोजिमै मोदीको दिमाकमा उक्त सृजनशील जस्तो देखिने ‘आइडिया’ आएको बुझ्न गाह्रो छैन | मोदी निकै नै कुटनीतिक तर आक्रामक शैलीमा देखा पर्न खोजेको लगभग पक्का भैसकेको छ | अब हामीले मोदीबाट लिने कुराको समयमै पहिचान गरेनौं भने हामी पछी नै परिरहनेछौँ | मोदीका बिशेषता र रणनीतिबाट नेपालले लाभ लिने कोशिश गर्नुपर्छ | समृद्द चिन र भारतबीच गरिब नेपालीको पहिचान जारि रहनेछ |

दक्षिण यसियामा निकै सानदार पूर्ण तरिकाले उदाएका मोदीले आफ्ना छिमेकी देशहरु संग कस्तो नीति अपनाउलान् भन्ने आम जिज्ञाशा नेपालमा छ | बिशेष गरि बिगत देखि नै भारतीय बाज मनोवृत्ति बाट आक्रान्त नेपालले मोदीको आगमन संगै शान्तिको स्वास फेर्न पाउला वा इन्दिरा गान्धिकालिन ‘नेपाल गेम प्लान’ पुरा गर्न र नेपाललाई हिन्दु राष्ट्र बनाउन अझैं शशक्त ढंगको बाज मनोवृत्तिले नै निरन्तरता पाउला ? मोदीले बडो महत्वाकांक्षाका साथ् यस प्रकारको बाजले लिने शैली अबलम्बन गरे भने त्यसले नेपालको मात्र होइन, चीनको समेत राष्ट्रिय स्वार्थमा धक्काको स्थिति आउनेछ | यस्तो अवस्थामा चीनले पनि बाध्य भएर ‘काउन्टर’को शैली अपनाउने छ | त्यस्तो अवस्थामा दिल्ली-काठमाडौँ-बेइजिंग कोरिडर बाजहरुको द्रुत-मार्ग बन्ला वा परेवाहरुको सुरक्षित बासस्थान ? निचोड निकाले हतार हुनेछ | तर, चिन र भारतको सहकार्यले मात्र यसिया एक्काइशौं शताब्दीको आर्थिक पावर हाउस र राजनीतिक रुपमा संसारकै ‘इपिसेंटर’का रुपमा विकास हुन सम्भव छ |

(चन्द त्रिविमा ‘अन्तर्राष्ट्रिय सम्वन्ध तथा कुटनीति’मा स्नातकोत्तर गर्दै छन्)

agnipunja@yahoo.com

नयाँ पत्रिकाको बर्ष-८, अंक-४२, २६-मे २०१४ सोमबारमा प्रकाशित लेख